काठमाडौं । बेलायती प्रख्यात अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ। रंगमञ्च, टेलिभिजन र चलचित्र क्षेत्रमा सात दशकभन्दा लामो समय योगदान दिएका स्टुअर्टको बुधबार अमेरिकाको लस एन्जलसस्थित आफ्नै निवासमा निधन भएको हो। उनको परिवारले बिहीबार सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक गरेको हो।
परिवारका अनुसार उनी अल्जाइमर्स रोग र लेवी बडी डिमेन्सियाबाट पीडित थिए। परिवारले उनको रोगसँगको संघर्षलाई छोटो तर भावनात्मक यात्रा भनेको छ। उनको निधनपछि विश्वभरका कलाकार, सहकर्मी र प्रशंसकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
सामान्य परिवारबाट विश्वप्रसिद्ध कलाकारसम्म
सन् १९४० जुलाई १३ मा बेलायतको योर्कसायरमा जन्मिएका स्टुअर्टको बाल्यकाल आर्थिक अभावमा बितेको थियो। सानैदेखि अभिनयमा रुचि राख्ने उनलाई विद्यालयका एक शिक्षकले विलियम शेक्सपियरका नाटकबारे परिचित गराएका थिए। त्यसपछि उनी अभिनयतर्फ आकर्षित भएका थिए।
१७ वर्षको उमेरमा स्थानीय नाटकमा अभिनय गरेपछि उनले ब्रिस्टलमा पुगेर औपचारिक अभिनय प्रशिक्षण लिने अवसर पाए। सन् १९६६ मा उनी रोयल शेक्सपियर कम्पनी (आरएससी) मा आबद्ध भए। त्यहाँ उनले करिब १४ वर्ष बिताउँदै शेक्सपियरका विभिन्न नाटकमा महत्वपूर्ण भूमिका निर्वाह गरे।
सन् १९६७ मा बेलायती टेलिभिजन शृङ्खला ‘कोरोनेसन स्ट्रिट’ बाट उनले टेलिभिजन अभिनय यात्रा सुरु गरेका थिए।
‘स्टार ट्रेक’ले दिलायो विश्वव्यापी पहिचान
सन् १९८७ स्टुअर्टको अभिनय जीवनको महत्वपूर्ण मोड बन्यो। उनले विज्ञानकथामा आधारित चर्चित टेलिभिजन शृङ्खला ‘स्टार ट्रेक : द नेक्स्ट जेनेरेसन’ मा कप्तान जाँ लुक पिकार्डको भूमिका पाए।
त्यतिबेला ४७ वर्षका रहेका स्टुअर्टले यस भूमिकाबाट विश्वभर ख्याति कमाए। सन् १९८७ देखि १९९४ सम्म प्रसारण भएको उक्त शृङ्खलाका सात सिजनमा उनले १७६ एपिसोडमा अभिनय गरे। पछि ‘स्टार ट्रेक’ का चलचित्र तथा सन् २०२० देखि २०२३ सम्म प्रसारण भएको ‘स्टार ट्रेक : पिकार्ड’ मा पनि उनी सोही भूमिकामा देखिए।
‘एक्स–मेन’बाट नयाँ पुस्तामाझ लोकप्रिय
सन् २००० मा प्रदर्शन भएको चलचित्र ‘एक्स–मेन’ मा प्रोफेसर चार्ल्स जेभियर अर्थात् प्रोफेसर एक्सको भूमिका निर्वाह गरेपछि उनी नयाँ पुस्ताका दर्शकमाझ पनि लोकप्रिय बने।
यस चलचित्रमा उनले अभिनेता इयान म्याककेलेनसँग काम गरेका थिए। पर्दामा प्रतिस्पर्धी पात्रका रूपमा देखिए पनि वास्तविक जीवनमा उनीहरू निकै घनिष्ठ मित्र थिए। दुवैले ‘वेटिङ फर गोडोट’ लगायतका नाटकमा पनि सँगै अभिनय गरेका थिए।
स्टुअर्टले आफ्नो अभिनय जीवनमा शेक्सपियरका नाटकदेखि विज्ञानकथा र सुपरहिरो चलचित्रसम्म विविध विधामा उत्कृष्ट क्षमता प्रस्तुत गरेका थिए।
अन्तिम समयसम्म अभिनयप्रति समर्पित
स्टुअर्टले अभिनयबाट अवकाश लिने योजना कहिल्यै नबनाएको बताएका थिए। उमेर बढ्दै जाँदा भूमिका कम भए पनि नयाँ र चुनौतीपूर्ण काम गर्न आफू सधैँ इच्छुक रहेको उनको भनाइ थियो।
अभिनयबाहेक उनी पशु अधिकारका पक्षमा पनि सक्रिय थिए। विशेषगरी कुकुरको संरक्षण तथा उद्धार अभियानमा उनको विशेष रुचि थियो।
अभिनय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सन् २०१० मा बेलायतकी महारानी एलिजाबेथ द्वितीयले उनलाई ‘नाइट’ उपाधिबाट सम्मानित गरेकी थिइन्। उनले रंगमञ्चमा उत्कृष्ट अभिनयका लागि दुईवटा लरेन्स ओलिभियर अवार्डसहित विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए।
उनको निधनप्रति ‘स्टार ट्रेक’ का सहकलाकार विलियम शाटनर, जर्ज टेकेई तथा विश्वभरका कलाकार र प्रशंसकहरूले दुःख व्यक्त गरेका छन्।
सात दशकसम्म रंगमञ्च र चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका स्टुअर्टको निधनले विश्व अभिनय क्षेत्रमा ठूलो क्षति पुगेको छ।