नेपालीको मौलिक पर्व तिहारमा विदेशी सामग्रीको वर्चस्व, भाइमसलादेखि झिलिमिली बत्तीसम्म आयातकै भर

743 Shares

काठमाडौं । नेपालीको मौलिक सांस्कृतिक पर्व तिहार नजिकिँदै गर्दा बजारमा प्रयोग हुने अधिकांश सामग्रीमा विदेशी उत्पादनको वर्चस्व देखिएको छ। उज्यालो, फूल, मिठाई र भाइटीकाको विशेष महत्त्व बोकेको तिहारमा आवश्यक पर्ने सामग्रीका लागि नेपाल अझै विदेशी बजारमै निर्भर रहेको देखिन्छ।

तिहारमा घर तथा कार्यालय सजाउन प्रयोग गरिने झिलिमिली बत्ती, पूजासामग्री, फूलमाला, भाइमसला, मिठाई, लत्ताकपडा तथा उपहारका सामग्रीमध्ये ठूलो हिस्सा विदेशबाट आयात हुने गरेको छ। यसले एकातिर तिहारको व्यापार बढाए पनि अर्कोतर्फ स्वदेशी उत्पादन र उद्योगको बजार कमजोर बनाउँदै लगेको छ।

भाइमसलाका सामग्रीसमेत विदेशबाट

भाइटीकामा दाजुभाइलाई उपहारस्वरूप दिइने भाइमसलामा प्रयोग हुने काजु, किसमिस, नरिवल, बदाम, ओखर, पिस्ता, सुपारी, ल्वाङ र सुकमेललगायत सामग्री अधिकांश आयातित छन्। यी सामग्री भारत, चीन, अमेरिका, तान्जानियालगायत विभिन्न देशबाट नेपाल भित्रिने गरेका छन्।

भन्सार विभागका अनुसार भाइमसलामा प्रयोग हुने सामग्रीको शतप्रतिशत हिस्सा आयातमा निर्भर रहेको छ। वर्षभरि तुलनात्मक रूपमा कम माग हुने र तिहारमा मात्रै खपत बढ्ने भएकाले यस्ता सामग्रीको स्वदेशी उत्पादनमा उद्योगीहरूको आकर्षण कम रहेको जानकारहरू बताउँछन्।

झिलिमिली बत्तीमा चिनियाँ उत्पादनको दबदबा

तिहारलाई उज्यालोको पर्वका रूपमा पनि चिनिन्छ। पछिल्लो समय परम्परागत माटोका पाला र मैनबत्तीको तुलनामा विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढ्दै गएको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष करिब चार अर्ब रुपैयाँ बराबरका विद्युतीय झिलिमिली बत्ती, मैनबत्ती तथा आतिसबाजीका सामग्री आयात भएका थिए। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै करिब २५ करोड रुपैयाँ बराबरका यस्ता सामग्री नेपाल भित्रिएका थिए।

नेपालमा आयात हुने विद्युतीय सजावटका सामग्रीमध्ये करिब ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट आउने गरेको तथ्याङ्कले देखाउँछ। आकर्षक डिजाइन र तुलनात्मक रूपमा सस्तो मूल्यका कारण चिनियाँ उत्पादनले बजारमा आफ्नो पकड बलियो बनाएको व्यवसायीहरूको भनाइ छ।

नेपाल विद्युत् व्यवसायी महासंघका अनुसार तिहारको समयमा मात्रै विद्युतीय सामग्रीको कारोबार करिब डेढ अर्ब रुपैयाँसम्म पुग्ने गरेको छ।

स्वदेशी फूल उत्पादनमा पनि चुनौती

तिहारमा सयपत्री र मखमली फूलको विशेष महत्त्व हुन्छ। घर, मन्दिर तथा सार्वजनिक स्थान सजाउन फूलमालाको प्रयोग व्यापक रूपमा गरिन्छ। नेपालमा फूल उत्पादन हुने भए पनि तिहारका केही दिनमा माग अत्यधिक बढ्ने भएकाले भारतबाट समेत फूल आयात गर्नुपर्ने अवस्था छ।

यस वर्ष दसैँअघि आएको बाढीपहिरोले विभिन्न क्षेत्रमा फूलखेतीमा क्षति पुर्‍याएकाले स्वदेशी उत्पादनले माग धान्न कठिन हुने देखिएको छ।

त्यस्तै, तिहारका बेला फलफूलको माग पनि बढ्ने गरेको छ। नेपालमै उत्पादन हुने स्याउ, अनार, ओखरलगायत फलफूलसमेत विदेशी बजारबाट आयात हुने क्रम जारी छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै दुई अर्ब आठ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको थियो।

मौलिक पर्वमा स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्नेमा जोड

जानकारहरूले नेपालीका मौलिक चाडपर्वमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भीम सिग्देलले परम्परागत पर्वमा आफ्नै उत्पादन र मौलिक सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार विदेशी सामग्रीप्रतिको निर्भरता एकैपटक अन्त्य गर्न सम्भव नभए पनि सरकार, निजी क्षेत्र र उपभोक्ताले संयुक्त प्रयास गरे क्रमशः स्वदेशी उत्पादनको प्रयोग बढाउन सकिन्छ।

नेपाली संस्कृति, परम्परा र पहिचानसँग जोडिएको तिहारमा समेत विदेशी सामग्रीको निर्भरता बढ्दै जानुले स्वदेशी उत्पादन प्रवर्द्धन र घरेलु उद्योगको विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।

सम्बन्धित समाचार