सिड्नी गोलीकाण्डमा साहस देखाउने नेपाली मूलका प्रहरी विकास भारतीलाई अस्ट्रेलियाको राष्ट्रिय बहादुरी पुरस्कार

1.6k Shares

काठमाडौं । अस्ट्रेलियामा कार्यरत नेपाली मूलका प्रहरी वरिष्ठ कन्स्टेबल विकास भारतीले राष्ट्रिय बहादुरी पुरस्कार प्राप्त गरेका छन्। सिड्नीको क्रोइडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको साहस र कर्तव्यनिष्ठाको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार अक्टोबर २८ मा राजधानी क्यानबेरामा आयोजना गरेको समारोहमा भारतीलाई सन् २०२६ को संयुक्त राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरेको हो।

न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीअन्तर्गत बर्वुड पुलिस एरिया कमान्डमा कार्यरत भारती सन् २०२५ अक्टोबर ५ मा सिड्नीको क्रोइडन पार्कमा भएको सार्वजनिक गोलीकाण्डमा घटनास्थल पुग्ने पहिलो प्रहरी अधिकारीमध्ये एक थिए।

गोली चलिरहेको जोखिमपूर्ण अवस्थामा समेत उनले आफ्नो ज्यानको पर्वाह नगरी कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पठाएका थिए। साथै, घटनामा घाइते भएका एक सर्वसाधारणलाई उद्धार तथा सहयोग गरेका थिए।

सहकर्मीलाई समर्पित गरे सम्मान

पुरस्कार ग्रहण गर्दै भारतीले आफूले यस्तो सम्मान पाउने कल्पनासमेत नगरेको बताएका छन्। सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया पुगेका उनले यो सम्मान आफ्ना लागि गर्वको विषय भएको बताए।

उनले प्रहरी सेवा व्यक्तिगत प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै घटनाका बेला साथ दिएका सहकर्मीहरूको सहयोग, तालिम र विश्वासका कारण आफूले जिम्मेवारी पूरा गर्न सकेको बताएका छन्।

उनले प्राप्त सम्मान आफ्ना सहकर्मीहरूसँग बाँड्न चाहेको पनि बताएका छन्।

प्रधानमन्त्री र प्रहरी कमिस्नरद्वारा प्रशंसा

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्को प्रश्नोत्तर सत्रमा भारतीको साहस र कर्तव्यनिष्ठाको प्रशंसा गरेका छन्।

त्यस्तै, न्यु साउथ वेल्स प्रहरी कमिस्नर माल लानयोनले पनि भारतीले घटनाका क्रममा आफ्नो सुरक्षाभन्दा नागरिकको जीवन र सुरक्षालाई प्राथमिकता दिएको भन्दै उनको प्रशंसा गरेका छन्।

कमिस्नर लानयोनले भारतीको कार्यले नागरिकको रक्षा र सेवाका लागि प्रहरीले लिएको शपथलाई सार्थक बनाएको उल्लेख गरेका छन्।

नेपाली मूलका भारतीले अस्ट्रेलियामा प्रहरी सेवामार्फत देखाएको साहस र समर्पणको राष्ट्रियस्तरमा कदर भएपछि नेपाली समुदायमा पनि खुसी व्यक्त गरिएको छ।

सम्बन्धित समाचार