बाढीपहिरोको जोखिम बढेपछि कान्तिलोकपथमा राति सवारी सञ्चालन बन्द

589 Shares

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडक तथा पुलमा क्षति पुग्दा स्थानीयवासीको आवागमन प्रभावित भएको छ भने केही राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीको बाढीले बगाएको छ। पुल बगाएसँगै दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ। स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।

यसैगरी, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं. ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

उता, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक तथा पुलमा क्षति पुगेपछि यात्रु तथा सवारी चालकलाई यात्रा गर्दा सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ। अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु जरुरी देखिएको छ।

सम्बन्धित समाचार