काठमाडौँ । लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको बहाव बढेको छ। नदीको जलसतह बढ्दै गएपछि प्रशासनले आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण, ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालन हुन तयारी अवस्थामा रहेको छ।
प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
त्यस्तै, नदीको बहाव हेर्न जाने, किनारमा अनावश्यक रूपमा भीड गर्ने तथा जोखिमपूर्ण स्थानमा पुग्ने काम नगर्न पनि आग्रह गरिएको छ।
लगातारको वर्षाका कारण नदीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सतर्क रहन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।