बाजुरा । भारी हिमपातका कारण बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उद्धार गरिएका युवक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ निवासी २१ वर्षीय सागर कार्की हुन्।
चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा आश्रय लिएर बसेका थिए।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएका कार्कीलाई सदरमुकाम मार्तडी पुर्याइएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।
यसैबीच, बडीमालिका क्षेत्रमा सम्पर्कविहीन भएका अर्का युवकको खोजी कार्य जारी रहेको छ। बेपत्ता हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी निवासी २० वर्षीय मनिष बोहरा रहेका छन्।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार बोहराको खोजीका लागि सदरमुकामस्थित नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर त्यसतर्फ पठाइएको छ।
गत असोज ९ गते सदरमुकाम मार्तडीबाट दुई जना सम्पर्कविहीनसहित पाँच जनाको टोली बडीमालिका दर्शनका लागि प्रस्थान गरेको थियो। टोलीमा रहेका पूर्वी नेपालका तीन जना भने बडीमालिकाबाट फर्किएर मार्तडी पुगिसकेका छन्।
भारी हिमपातका कारण उच्च हिमाली क्षेत्रमा आवागमन कठिन बनेपछि उद्धार तथा खोजी कार्यमा चुनौती देखिएको छ।