बाघ र चितुवालाई गाउँ पस्न रोक्न कृत्रिम गन्धको परीक्षण, नतिजा मिश्रित

456 Shares

काठमाडौं । बाघ र चितुवालाई मानव बस्ती तथा पशुपालन क्षेत्रमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले नेपालमा कृत्रिम गन्ध प्रविधिको परीक्षण भइरहेको छ। वन्यजन्तुले आफ्नो क्षेत्र पहिचान गर्न र अन्य जनावरसँग सञ्चार गर्न प्रयोग गर्ने प्राकृतिक रासायनिक संकेतको कृत्रिम स्वरूप तयार गरी यस्तो प्रविधिको परीक्षण गरिएको हो।

कर्नेल विश्वविद्यालय (अमेरिका), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल तथा स्थानीय वन अधिकारीहरूको सहकार्यमा यो अनुसन्धान अघि बढाइएको हो। ‘बायोबाउन्ड्री’ नाम दिइएको यस प्रविधिले बाघ तथा चितुवाको व्यवहारमा प्रभाव पारेर उनीहरूलाई जोखिमयुक्त क्षेत्रबाट टाढा राख्ने लक्ष्य राखेको छ।

सन् २०२४ अक्टोबरदेखि बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने १३ किलोमिटर लामो खाता जैविक मार्गमा १० प्रकारका रासायनिक पदार्थ परीक्षण गर्न थालिएको थियो। परीक्षणका लागि गन्ध फैलाउने उपकरण र वन्यजन्तुको गतिविधि निगरानी गर्ने क्यामेरा जडान गरिएका छन्।

अनुसन्धानका क्रममा केही स्थानमा बाघ र चितुवा गन्ध फैलाउने उपकरणनजिक पुगे पनि गन्ध सुँघेर फर्किएको पाइएको छ। परीक्षण गरिएका १० रासायनिक पदार्थमध्ये तीनवटाले चितुवाको उपस्थिति घटाउन र दुईवटाले बाघको उपस्थिति घटाउन प्रभाव पारेको देखिएको छ।

तर सबै रासायनिक पदार्थले अपेक्षित परिणाम दिएका छैनन्। केही गन्धले बाघ तथा चितुवालाई टाढा राख्नुको सट्टा झन् आकर्षित गरेको पाइएको छ। विशेषगरी केही गन्धका कारण बाघहरू पटक–पटक सोही स्थानमा पुग्न थालेका थिए।

डब्लूडब्लूएफ नेपालका वन्यजन्तु कार्यक्रम प्रमुख शशांक पौडेलका अनुसार केही जनावर गन्धको स्रोतसम्म पुगेर अनुसन्धान गरे पनि त्यसलाई पार गरेर अगाडि बढेनन्। यद्यपि, यस्तो व्यवहार देखिनु मात्रै प्रविधि सफल भएको प्रमाण भने होइन।

यसअघि बोत्सवानामा गरिएको अनुसन्धानमा एउटा रासायनिक पदार्थले चितुवाबाट हुने पशुधनमाथिको आक्रमण घटाउन सहयोग गरेको पाइएको थियो। तर नेपालमा गरिएको परीक्षणले अहिलेसम्म त्यस्तै नतिजा पुष्टि गर्न सकेको छैन।

पशुचौपाया जोगाउन उपयोग गर्ने लक्ष्य

अनुसन्धान सफल भएमा पशुचौपाया राख्ने गोठ, चरन क्षेत्र तथा वन्यजन्तुको जोखिम बढी भएका स्थानमा यस्ता गन्ध फैलाउने उपकरण जडान गर्न सकिने अनुसन्धानकर्ताहरूको अपेक्षा छ। चरनमा जाने पशुमा समेत यस्ता उपकरण जडान गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ।

यद्यपि, कृत्रिम गन्ध प्रविधि सुरक्षित गोठ निर्माण, पशुचौपायाको निगरानी र सुरक्षित चरन व्यवस्थापनको विकल्प भने नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।

यस प्रविधिलाई व्यवहारमा लागू गर्न उपकरणको लागत, नियमित रूपमा गन्ध पुनः भर्ने व्यवस्था तथा रासायनिक पदार्थको उत्पादन र वितरणजस्ता चुनौती पनि छन्।

नेपालका बाघ तथा चितुवा प्रभावित क्षेत्रमा वन्यजन्तुले पशुचौपायामाथि आक्रमण गर्दा स्थानीय समुदायको जीविकोपार्जनमा असर पर्दै आएको छ। यस्तो अवस्थामा कृत्रिम गन्ध प्रविधि प्रभावकारी प्रमाणित भए मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको थप उपाय बन्न सक्ने अपेक्षा गरिएको छ।

तर अनुसन्धानकर्ताहरूले हालसम्म प्राप्त नतिजा मिश्रित रहेकाले यसलाई द्वन्द्व नियन्त्रणको प्रमाणित प्रविधिका रूपमा प्रयोग गर्न पर्याप्त अध्ययन आवश्यक रहेको बताएका छन्।

सम्बन्धित समाचार