युवालाई एआई सीप सिकाउने सरकारको तयारी, २ हजार जनाले निःशुल्क तालिम लिन पाउने

1.8k Shares

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै सरकारले युवाहरूका लागि निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा तालिम सञ्चालन गर्न लागेको हो।

प्रतिष्ठानका अनुसार तालिम चार सत्रमा सञ्चालन हुनेछ। प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म तालिम सञ्चालन गरिनेछ।

प्रत्येक सत्रमा ५०० जनाले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। यसअनुसार कुल २ हजार युवाले निःशुल्क तालिम लिने अवसर पाउनेछन्।

तालिममा ChatGPT, Claude लगायतका एआई उपकरणको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने तरिका, तस्बिर र भिडियो निर्माण तथा एआईबाट प्राप्त सूचनाको तथ्य जाँच गर्ने विधिबारे व्यावहारिक ज्ञान दिइनेछ।

मन्त्रालयले युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक क्षेत्रमा एआई प्रविधिको प्रभावकारी उपयोग गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

तालिममा सहभागी हुन इच्छुक युवाले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिएका मध्ये छनोट भएका सहभागीलाई तालिमको सत्र र अन्य आवश्यक विवरणबारे जानकारी गराइने राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ।

सम्बन्धित समाचार