काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (कात्तिक १५) देखि सडक उपभोग दस्तुर अर्थात् टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्ग र आवागमनको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरेको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार शुल्क संकलन सुरु गरिएको हो । यसअघि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई निःशुल्क आवागमनको सुविधा दिइएको थियो ।
आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश गर्ने र काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकेको छ ।
|
सवारीसाधनको वर्ग |
काठमाडौं प्रवेश |
काठमाडौं बाहिरिँदा |
|---|---|---|
|
वर्ग १: कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी |
रु. ६५ |
रु. ६० |
|
वर्ग २: मिनी बस, मिनी टिपर तथा ट्रक |
रु. ११५ |
रु. ८० |
|
वर्ग ३: बस तथा सिंगल रियर एक्सल भएका ट्रक |
रु. २६० |
रु. २०० |
|
वर्ग ४: मल्टी एक्सल ट्रक तथा भारी उपकरण |
रु. ६०० |
रु. २५० |
स्रोत: नागढुंगा सुरुङमार्ग निर्माण आयोजना तथा सार्वजनिक शुल्क विवरण।
निर्धारित दरअनुसार सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने मल्टी एक्सल ट्रक तथा भारी उपकरणले सबैभन्दा बढी ६०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, काठमाडौं बाहिरिँदा सोही वर्गका सवारीले २५० रुपैयाँ बुझाउनुपर्नेछ ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबसजस्ता हलुका सवारीसाधनका लागि भने काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ ।
सुरुङमार्ग प्रयोग गरेबापत संकलन हुने रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । शुल्क संकलन तथा व्यवस्थापन सडक बोर्ड नेपाल र सडक विभागको अनुगमनमा सञ्चालन हुने जनाइएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिने यात्राका लागि वैकल्पिक र सहज मार्ग उपलब्ध भएको छ । शुल्क लागू भएसँगै अब सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकले आफ्नो सवारीको वर्गअनुसार तोकिएको दस्तुर तिरेर यात्रा गर्नुपर्नेछ ।