काठमाडौं । धादिङको मझिमटार क्षेत्रमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सोमबार पृथ्वी राजमार्गमा तीन घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राजमार्गमा सवारी सञ्चालन रोक्ने जनाएको हो।
बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले यातायात आवागमन बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।
सडक बन्द रहने समयमा उक्त राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।
निर्माण कार्यका क्रममा हुन सक्ने असुविधालाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई आफ्नो यात्रा योजना सोहीअनुसार बनाउनसमेत आग्रह गरिएको छ।
पृथ्वी राजमार्ग काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडक मार्ग भएकाले निर्धारित समयको सडक अवरोधले लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुन सक्नेछन्।