पृथ्वीमा जीवनको उत्पत्तिबारे दशकौँ पुरानो वैज्ञानिक सिद्धान्तमाथि प्रश्न, नयाँ अनुसन्धानले देखायो फरक सम्भावना

694 Shares

काठमाडौं । पृथ्वीमा जीवनको सुरुवात कसरी भयो भन्ने विषयमा दशकौँदेखि स्थापित वैज्ञानिक मान्यतामाथि नयाँ अनुसन्धानले प्रश्न उठाएको छ। वैज्ञानिकहरूले अन्तरिक्षबाट आएका धूमकेतुले पृथ्वीमा जीवनका लागि आवश्यक रासायनिक तत्व ल्याएको हुन सक्ने पुरानो सिद्धान्तलाई नयाँ कम्प्युटर सिमुलेसनले कमजोर बनाएको निष्कर्ष निकालेका छन्।

बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार पृथ्वीमा जीवनको सुरुवातका लागि आवश्यक जैविक अणुहरू धूमकेतुमार्फत पर्याप्त मात्रामा आइपुगेको सम्भावना निकै कम छ।

करिब चार अर्ब वर्षअघि पृथ्वीमा ठूलो संख्यामा धूमकेतु ठोक्किएका थिए। ती धूमकेतुमा जीवन निर्माणका लागि आवश्यक कार्बन, नाइट्रोजन तथा अन्य जैविक पदार्थ रहेको मानिँदै आएको थियो। यही आधारमा धूमकेतुले पृथ्वीमा जीवनका आधारभूत रासायनिक तत्व पुर्‍याएको हुन सक्ने सिद्धान्त विकास भएको थियो।

तर नयाँ अनुसन्धानले धूमकेतु पृथ्वीमा ठोक्किँदा अत्यधिक तापक्रम र दबाब उत्पन्न हुने भएकाले जीवन निर्माणमा सहयोग गर्ने संवेदनशील जैविक अणुहरू नष्ट हुन सक्ने देखाएको छ।

अनुसन्धानकर्ताहरूले विशेषगरी हाइड्रोजन साइनाइड (HCN) नामक रासायनिक पदार्थमा ध्यान केन्द्रित गरेका थिए। यो पदार्थ जीवन निर्माणका लागि आवश्यक एमिनो एसिडजस्ता अणु बन्ने प्रक्रियामा महत्वपूर्ण मानिन्छ। तर धूमकेतु पृथ्वीमा ठोक्किँदा उत्पन्न हुने उच्च तापक्रम र दबाबका कारण उक्त पदार्थ सुरक्षित रहन कठिन हुने अध्ययनको निष्कर्ष छ।

अनुसन्धानका क्रममा एक लाख पटकसम्म कम्प्युटर सिमुलेसन गरिएको थियो। त्यसक्रममा ५४ प्रतिशत परीक्षणमा धूमकेतु पृथ्वीमा ठोक्किने अवस्था नै देखिएन भने बाँकी परीक्षणमा पनि जीवन निर्माणका लागि आवश्यक जैविक अणु सुरक्षित रूपमा पुर्‍याउन सक्ने प्रभावकारी ठक्कर अत्यन्त दुर्लभ देखियो।

अनुसन्धानकर्ताहरूले धूमकेतुले पृथ्वीमा जीवनका आधारभूत तत्व पुर्‍याएको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार भने गरेका छैनन्। तर यस्तो घटना अत्यन्तै दुर्लभ हुन सक्ने उनीहरूको भनाइ छ।

जीवनको उत्पत्तिबारे अन्य सम्भावना

धूमकेतुमार्फत जीवनका आधारभूत तत्व पृथ्वीमा आएको सम्भावना कमजोर देखिएपछि वैज्ञानिकहरूले अन्य सम्भावनाबारे पनि अध्ययन गर्नुपर्ने बताएका छन्।

तीमध्ये क्षुद्रग्रहबाट जैविक पदार्थ पृथ्वीमा आएको हुन सक्ने सम्भावना र प्रारम्भिक पृथ्वीमै प्राकृतिक रासायनिक प्रक्रियाबाट जीवनका आधारभूत तत्व निर्माण भएको हुन सक्ने सिद्धान्त प्रमुख छन्।

अध्ययनले मंगल ग्रहमा भने धूमकेतुमार्फत जैविक अणु पुग्ने सम्भावना पृथ्वीको तुलनामा केही बढी हुन सक्ने संकेत गरेको छ। मंगल ग्रहको आकार सानो भएकाले त्यहाँ धूमकेतु ठोक्किँदा गति तुलनात्मक रूपमा कम हुने र जैविक पदार्थ सुरक्षित रहने सम्भावना हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

यो अनुसन्धानले पृथ्वीमा जीवनको उत्पत्ति कसरी भयो भन्ने पुरानो वैज्ञानिक बहसलाई नयाँ दिशा दिएको छ। यद्यपि जीवनको वास्तविक सुरुवात कसरी भयो भन्ने प्रश्नको अन्तिम उत्तर अझै वैज्ञानिकहरूले पत्ता लगाउन सकेका छैनन्।

सम्बन्धित समाचार