काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिङ सडकखण्ड सोमबार चार घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्ने काम गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका अनुसार सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार आकाशे पुलको यात्रु आवागमन गर्ने मुख्य भाग (गर्डर) राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो। निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको उनले बताएका छन्।
सडक बन्द हुने अवधिमा पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा, चितवन तथा अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु र सवारीसाधन प्रभावित हुनेछन्।
आयोजनाले सडक बन्द रहने समयमा चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
त्यस्तै, निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।
पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिङ सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेकाले विभिन्न स्थानमा निर्माण कार्यका लागि समय–समयमा सवारी आवागमन रोकिने गरेको छ।