डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठ कैदी अझै बेपत्ता, खोजीमा २९० प्रहरी परिचालन

1k Shares

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दी अझै प्रहरीको सम्पर्कमा आउन सकेका छैनन्। गत शनिबार बिहान कारागारबाट फरार भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ।

विकट भौगोलिक अवस्थाका कारण फरार कैदीबन्दीको खोजीमा चुनौती देखिएको छ। उनीहरू कहाँ लुकेर बसेका छन् भन्नेबारे प्रहरीले अहिलेसम्म ठोस जानकारी प्राप्त गर्न सकेको छैन।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार फरार हुने आठ जनामध्ये पाँच जना जबर्जस्ती करणी र तीन जना चोरी मुद्दामा कारागारमा रहेका थिए। उनीहरूमध्ये दुई जना थुनुवा र बाँकी छ जना कैदी रहेको प्रहरीले जनाएको छ। तीन जना पुर्पक्षका लागि थुनामा रहेका थिए।

फरार हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया, २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, वडा नम्बर १० का ३२ वर्षीय रामबहादुर कामी, वडा नम्बर ३ का ३२ वर्षीय निशान भन्ने अदेश भण्डारी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्।

एसएसपी राठौरका अनुसार फरार कैदीबन्दीको खोजीका लागि आइतबार मात्रै २९० जना प्रहरी परिचालन गरिएको थियो। खोजी अभियानलाई तीव्र बनाउँदै सम्भावित स्थानहरूमा निगरानीसमेत बढाइएको छ।

यसैबीच, प्रहरीले शंकास्पद देखिएका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शंका लागेका व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा पहिचान पुष्टि गर्ने काम भइरहेको एसएसपी राठौरले बताए।

कारागारबाट एकैपटक आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएपछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ। प्रहरीले भने फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार