नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट प्रहरी प्रमुखसम्म, यस्तो छ मनोज केसीको यात्रा

708 Shares

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा डा. मनोज केसी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को १८ कात्तिक २०८३ मा बसेको बैठकले उनलाई नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको हो। अपराध अनुसन्धानमा विशेष पहिचान बनाएका केसीको प्रहरी सेवाको यात्रा विभिन्न चर्चित अनुसन्धान र संस्थागत जिम्मेवारीसँग जोडिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेपछि केसी राष्ट्रिय चर्चामा आएका थिए। उक्त प्रकरणमा तत्कालीन मन्त्री, सचिवसहित उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि अनुसन्धानले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा समेत ठूलो तरंग ल्याएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले उक्त प्रकरणको प्रारम्भिक अनुसन्धान अघि बढाएका थिए। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहँदा पनि उनले विभिन्न जटिल तथा संगठित अपराधका अनुसन्धानमा नेतृत्व गरेका थिए।

२०३२ साउन २८ गते नुवाकोटको तुप्चेमा जन्मिएका केसीको सुरुको रुचि हवाई क्षेत्र र एरोनोटिकल इन्जिनियरिङमा थियो। उनले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सम्बन्धी तालिमसमेत लिएका थिए। तर, नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदको विज्ञापन खुलेपछि उनले प्रहरी सेवामा प्रवेश गर्ने निर्णय गरे।

२०५४ चैत २८ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका केसीले विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनको नेतृत्व तहसम्मको यात्रा तय गरेका हुन्।

शैक्षिक क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ। उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। नेपाल प्रहरीमा पहिलोपटक सञ्चालन गरिएको स्टाफ कलेजका संस्थापक निर्देशकसमेत रहेका उनले प्रहरी शिक्षण प्रणालीको विकासमा योगदान पुर्‍याएका छन्।

केसीले जिल्ला प्रहरी कार्यालय रुपन्देही, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सीआईबी, विशेष ब्युरो, प्रहरी एकेडेमी तथा अपराध अनुसन्धान विभागलगायतका निकायमा काम गरिसकेका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा समेत उनले सुरक्षा अधिकृतका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।

एआईजी हुँदा वरीयताक्रममा तेस्रो स्थानमा रहेका केसीले पहिलो र दोस्रो वरीयताका अधिकारीलाई पछि पार्दै प्रहरी संगठनको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।

अब उनका अगाडि प्रहरी संगठनको संस्थागत सुधार, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, प्रहरीमाथि नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा कानुन कार्यान्वयनमा निष्पक्षता कायम राख्ने चुनौती रहेका छन्।

केसीले नेतृत्व गरेका तथा संलग्न रहेका प्रमुख कामहरू यस प्रकार छन् :

नक्कली भुटानी शरणार्थी प्रकरण: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरे।

फेक रेस्क्यु प्रकरण: पर्यटकीय क्षेत्रमा हुने नक्कली हवाई उद्धारमार्फत गरिने ठगीको अनुसन्धान अघि बढाए।

स्मार्ट टेलिकम प्रकरण: स्मार्ट टेलिकमसँग जोडिएका आर्थिक अनियमितताबारे अनुसन्धान गरे।

क्रिप्टोकरेन्सी कारोबार: अवैध क्रिप्टोकरेन्सी कारोबार तथा त्यससँग सम्बन्धित आर्थिक अपराधको अनुसन्धानमा काम गरे।

 धितोपत्र तथा बिमा क्षेत्रको अनुसन्धान: धितोपत्र र बिमा क्षेत्रसँग सम्बन्धित आर्थिक ठगी तथा अनियमितताका विषयमा अनुसन्धान गरे।

 सरकारी जग्गा अतिक्रमण: सरकारी जग्गा अतिक्रमणसँग सम्बन्धित विभिन्न प्रकरणको अनुसन्धानमा संलग्न भए।

प्रहरी स्टाफ कलेज स्थापना: नेपाल प्रहरीमा पहिलोपटक सञ्चालन गरिएको स्टाफ कलेजको संस्थापक निर्देशकका रूपमा जिम्मेवारी सम्हाले।

अपराध अनुसन्धानमा नेतृत्व: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका महत्त्वपूर्ण निकायमा रहेर जटिल अपराध अनुसन्धानको नेतृत्व गरे।

अन्तर्राष्ट्रिय शान्ति मिसन: संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा सुरक्षा अधिकृतका रूपमा काम गरे।

प्रहरी शिक्षण प्रणालीको विकास: प्रहरीको तालिम, शैक्षिक कार्यक्रम तथा संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्‍याए।

सम्बन्धित समाचार