तिहारको रौनकसँगै राष्ट्र बैंकमा सुनचाँदीका सिक्का किन्नेको घुइँचो

953 Shares

काठमाडौं । तिहार नजिकिएसँगै सुनको असर्फी र चाँदीका मेडालियन खरिद गर्ने सर्वसाधारणको भीड नेपाल राष्ट्र बैंकमा लागेको छ।

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबारदेखि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरु गरेपछि काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखामा खरिदकर्ताको चाप बढेको हो।

राष्ट्र बैंकले सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन खरिद गर्ने व्यवस्था मिलाएको छ। तोकिएको व्यवस्थाअनुसार एक व्यक्तिले २.५ ग्रामको एउटा सुनको असर्फी खरिद गर्न पाउनेछन्।

त्यस्तै, लक्ष्मी र गणेशको आकृति अंकित १० ग्रामका दुई थान चाँदीका मेडालियनसमेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार उक्त बिक्री व्यवस्था शुक्रबारसम्म कायम रहनेछ। तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने परम्परासँगै सुन तथा चाँदीका सिक्का खरिद गर्ने प्रचलन रहेकाले टक्सार महाशाखामा सर्वसाधारणको आकर्षण बढेको हो।

सम्बन्धित समाचार