काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा तथा समूहअन्तर्गत ठूलो संख्यामा कर्मचारी नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले प्राविधिक तथा प्रशासन सेवाका विभिन्न स्थायी पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार दसौँ तहदेखि पाँचौँ तहसम्मका विभिन्न पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गरिएको छ।
भर्ना प्रक्रियाअन्तर्गत दसौँ तहमा एक जना प्रबन्धक तथा आठौँ तहमा एक जना सहायक निर्देशक, एक जना वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट र तीन जना सहायक प्रबन्धकका लागि दरखास्त माग गरिएको छ।
त्यसैगरी सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा इन्जिनियरलगायतका पदमा पनि कर्मचारी नियुक्त गरिने प्राधिकरणले जनाएको छ।
प्रदेशस्तरमा समेत कर्मचारी आवश्यकता रहेकाले मिटर रिडिङ सुपरभाइजर, लेखापाल र सुपरभाइजरलगायतका पदमा आवेदन खुलाइएको छ।
सरकारी संस्थामा स्थायी रोजगारीको अवसर खोजिरहेका योग्य नेपाली नागरिकका लागि यो भर्ना प्रक्रिया महत्वपूर्ण अवसर बन्न सक्ने देखिन्छ।
प्राधिकरणका अनुसार इच्छुक तथा आवश्यक योग्यता पुगेका नेपाली नागरिकले शुक्रबारदेखि आगामी मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन्।