असार २७, काठमाडौं। सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका थिए ।
कार्यक्रममा ने.क.पा. (माओवादी केन्द्र) का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
माओवादी नेतृ सीताको स्मरण गर्दै पार्टी पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । नेतृ सीता परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहने बताउँदै श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । नेतृ दाहाल माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिइन् । उनी २०२८ सालदेखि निरन्तर रूपमा नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भएकी थिइन् । वि.सं २०५२ सालदेखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी उनी कहिले पनि विवादमा परेकी थिइनन् ।
कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्य, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा शुभचिन्तक समर्थक एवं सर्वसाधारण नागरिकको उपस्थिति समेत रहेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी गराए ।