काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफ्नो पदको लेटरहेडमा अमेरिकी दूतावासलाई चिठी लेख्दै संसदसँग गैरसम्बन्धित पाँच व्यक्तिको अन्तर्वार्ता मिलाइदिन एक वर्षअघि गरेको आग्रहबारे सूचना चुहिएपछि यस प्रकरणले हंगामा नै मच्चाइएको छ ।
रास्वपाको समानुपातिक कोटाबाट सांसदहुँदै उपसभामुखको पदमा आसिन भएकी रानाको यो प्रकरणबारे सांसदहरुले चासो राखेका छन् ।
शुक्रबार कार्यव्यवस्था समिति बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख राना, कानुनमन्त्री अजय चौरसियालगायतसँग राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले रानालाई मानव तस्करहरुले दुरुपयोग गरेको देखिन आएको भन्दै ध्यानाकर्षण गराए ।
खतिवडाले यसअघिको सरकारमा रहने विभिन्न पदाधिकारीले सुशासन निर्माणका लागि अनियमितता र गलत काममा फाइल खोल्ने भनी बोल्दै आए पनि यति गम्भीर विषयमा भने मौन रहन खोजेको आरोप पनि लगाए ।
आफूमाथि लक्षित गर्दै खतिवडाले पटक पटक प्रश्न गरेपछि सभामुख घिमिरेले यसबारे उपसभामुख रानासँग अलग्गै छलफल गर्ने आश्वासन दिए ।
खतिवडाले आफू सभापति रहेको राज्यव्यवस्था समितिमा राना जोडिएको पत्र र यससँग सम्बन्धित विषयमा उजुरी नै परेको भन्दै छिटो सम्बोधन गर्न माग गरे ।
संसदीय समितिको बैठकमा माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियारलगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।
खतिवडाले बताए अनुसार उक्त उजुरीमा व्यक्तिहरुको पैसा लिएर अमेरिका पठाउन वातावरण मिलाइदिने आश्वासन दिइएको उल्लेख छ । रानाले शुक्रबार नै प्रष्टीकरण दिँदै आफूलाई निराधार रुपमा मुछ्ने काम भएको असन्तोष जनाएकी छन् ।
उनी आबद्ध दल रास्वपाले तीन महिनाअघि नै यसबारे सबै जानकारी लिए पनि गुपचुप बसेको भन्दै आलोचना भइरहेको छ । खराब काम गरेको आरोप लागेको ७२ घण्टाभित्र कारबाही गर्छ रास्वपाले भन्ने रास्वपा सभापति रवि लामिछाने यसरी मौन किन बसेका छन् ? भाषणमा सीमित सुशासन रास्वपाको भयो भन्दै समर्थकहरुले पछि सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।