काठमाण्डौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङह्लामु गाउँपालिका-५, मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी फुटेको पाइएको छ । टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका-७, का वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिएका हुन् ।
भूगर्भविद्हरूले तापक्रम र वर्षाका कारण हिउँ तीव्र गतिमा पग्लिएर पर्माफ्रोस्ट (बालुवा र हिउँ मिसिएर वर्षौंदेखि शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा जमेको जमिन) नै बगाउँदा बाढी उत्पन्न भएको र सो बाढीले टासी लाप्चामा रहेका केही हिमपोखरीलाई पनि सोहरेको पूर्वानुमान गरेका थिए । उपलब्ध तस्बिर विश्लेषण गर्दा भूगर्भविद्हरूको आकलन सटिक रहेको पुष्टि भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि हेलिकोप्टरबाट खिचिएको जलाधार क्षेत्रको केही फोटो उपलब्ध गराएको छ । नेपाल सरकारका रक्षामन्त्री मानवीर राईसहित टोली बाढी प्रभावित खुम्बु क्षेत्रको थामे पुगेको हो ।