असोज १२, काठमाण्डौं । भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ पुगेको छ। हालसम्म ७२ जना बेपत्ता छन् ।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु भएको पुष्टि गरे । बाढी-पहिरोमा परेर ३६ जना घाइते भएका छन् ।
न्यौपानेका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशमा ९, मधेस प्रदेशमा १, काठमाडौं उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता भएका छन् ।
उपत्यकापछि सबभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कुल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा पनि उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् ।