प्रधानमन्त्री शाहको अध्यादेश: शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध

1.1k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएका विकृति अन्त्य गर्न अध्यादेशमार्फत नयाँ व्यवस्था लागू गरिएको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसमा यो निर्णय जनचाहना अनुसार प्रणाली सुधारका लागि गरिएको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहका अनुसार वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलगत प्रभावमा परेर “झोला र झण्डाको राजनीति” बढ्दै गएको र यसले योग्यता तथा क्षमताभन्दा पहुँचलाई प्राथमिकता दिएको छ ।

नयाँ व्यवस्थाअनुसार शिक्षालयमा दलको झण्डा निषेध गरिएको छ भने कर्मचारीतन्त्रमा दलगत संगठन र प्रभाव रोक्ने प्रावधान लागू गरिएको छ। अब सरकारी नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, योग्यता र दक्षतालाई आधार बनाइनेछ ।

प्रधानमन्त्री शाहले यो कदम कुनै पार्टीविरुद्ध नभई प्रणाली सुधार र संस्थागत सुदृढीकरणको प्रयास भएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार विद्यार्थीले राजनीति सिक्नुपर्छ तर सभ्यता र जिम्मेवारीसहित, र कर्मचारीले जनसेवामा केन्द्रित हुनुपर्छ ।

उहाँले परिवर्तन भाषणले होइन, निर्णयले आउने भन्दै सरकार जनताको हितका लागि काम गरिरहेको र सबैको साथ तथा विश्वास आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ ।

सम्बन्धित समाचार