अध्यादेशपछि पर्यटन बोर्ड, पशुपति कोष र वायुसेवा निगमका उच्च पदाधिकारी पदमुक्त

2k Shares

सरकारले ल्याएको राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेश लागू भएपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसहित विभिन्न निकायका उच्च पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् । स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नियुक्त भएका जोशी अध्यादेशका कारण पदबाट हटेका हुन् ।

त्यस्तै, बोर्डका सञ्चालक समितिका उपाध्यक्ष रामप्रसाद सापकोटा तथा सदस्यहरू राजेन्द्र लामा, कुमारमणि थपलिया, ऋषिराम भण्डारी र नरेन्द्रकुमार देव पनि पदमुक्त भएका छन् । यसैगरी, पशुपति क्षेत्र विकास कोषमा तत्कालीन सरकारले नियुक्त गरेका सदस्यसचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा तथा अन्य सदस्यहरू हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबुशरण सुवेदी, भरतप्रसाद बडाल, रामेश्वर संगत, राजुकुमार खत्री र रेनुका पराजुली पनि पदमुक्त भएका छन् ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य रामप्रसाद खतिवडा पनि पदमुक्त भएका छन् । साथै, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामासहित सम्पूर्ण पदाधिकारी टोली स्वतः पदमुक्त भएको उल्लेख गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका सदस्यहरू पनि सोही निर्णयअनुसार पदमुक्त भएका छन् । सरकारी अध्यादेशपछि विभिन्न निकायका राजनीतिक नियुक्तिहरू स्वतः खारेज हुने अवस्था आएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार