काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जंगली जनावर व्यवस्थापनको विषयलाई लिएर सांसदबीच तीव्र विवाद भएको छ । बैठकमा लक्ष्मीप्रसाद पोखरेल ले किसानहरू जंगली जनावरका कारण अत्यन्त प्रभावित भएको भन्दै बाँदरलाई बन्ध्याकरण गर्नुपर्ने र बँदेल मार्न पाउने कानुन बनाउनुपर्ने धारणा राखेका थिए ।
उनले जंगली जनावरले खेतीपाती नष्ट गर्नुका साथै मानव जीवनमै जोखिम निम्त्याएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न कडा कदम आवश्यक भएको बताए । तर, उनको अभिव्यक्तिप्रति आशिका तामाङ ले तत्काल प्रतिवाद जनाइन्। उनले “मार्ने कुरा नगरौँ” भन्दै जनावरको संरक्षणतर्फ ध्यान दिनुपर्ने अडान लिइन् ।
यसक्रममा सांसद पोखरेलले आफू बोलिरहेको बेला बीचमै नबोल्न आग्रह गर्दै आफ्नो कुरा राख्न पाउनुपर्ने बताएका थिए। जवाफमा तामाङले “माननीय भएर मार्ने कुरा नगरौँ” भन्दै मानवीय दृष्टिकोण अपनाउनुपर्ने बताइन् । पोखरेलले बँदेलले मानिसमाथि आक्रमण गरेका घटनासमेत उल्लेख गर्दै समस्या गम्भीर बन्दै गएको बताए ।
तर तामाङले जंगली जनावरको पनि बाँच्न पाउने अधिकार रहेको भन्दै मार्ने विकल्प अस्वीकार्य रहेको अडान दोहोर्याइन् । पोखरेलले “नमार्ने भए व्यवस्थापन कसरी गर्ने?” भन्ने प्रश्न उठाउँदा तामाङले संरक्षणमुखी उपाय खोज्नुपर्ने बताइन् । सांसद पोखरेलका अनुसार जंगली जनावरका कारण गाउँघर रित्तिने अवस्था सिर्जना भइरहेको छ भने खेतीयोग्य जमिन बाँझो बन्न थालेको छ । उनले यस्तो अवस्थामा दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।