काठमाडौँ । रुसले नेपालसँग रेलमार्ग, सडक निर्माण, क्यान्सर अस्पताल र प्राविधिक शिक्षासहित १३ वटा विकास परियोजनामा सहकार्य गर्न प्रस्ताव गरे पनि नेपाल सरकारले त्यसबारे औपचारिक जवाफ नदिएको खुलासा भएको छ । कूटनीतिक प्रक्रियामार्फत मस्कोसम्म पुग्नुपर्ने फाइल परराष्ट्र मन्त्रालयमै रोकिएपछि ती परियोजना अलपत्र परेको बताइएको छ ।
राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी फेडेरेसन काउन्सिलकी अध्यक्ष भ्यालेन्टिना माटभिएन्कोबीच २०८२ सालमा भएको भेटपछि रुसले नेपाललाई विस्तृत परियोजना प्रस्ताव पठाएको थियो । त्यसमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं–मस्को शैलीको रेल प्रणाली, पोखरा–रिडी सडक निर्माण तथा बालबालिकाका लागि क्यान्सर अस्पताल स्थापना गर्ने योजना समावेश थिए ।
तत्कालीन प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरू सुरुमा सकारात्मक देखिए पनि पछि प्रक्रिया अघि बढ्न नसकेको तिमिल्सिनाले बताएका छन् । मन्त्रालयहरूले आवश्यक पत्राचार तयार गरे पनि ती कागजात परराष्ट्र मन्त्रालयमै रोकिएको र रुसलाई कुनै औपचारिक प्रतिक्रिया नपठाइएको उनको भनाइ छ ।
नेपालस्थित रुसी दूतावासले समेत नेपाल सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएको थियो । रुसी पक्षले धेरै समझदारी र सहकार्य प्रस्तावहरू नेपाली प्रशासनिक प्रक्रियामै अड्किएको टिप्पणी गर्दै त्यसलाई “रेड टेप” अर्थात् झन्झटिलो कर्मचारीतन्त्रको परिणाम भनेको थियो ।
पूर्वराजदूत मिलन तुलाधरका अनुसार सोभियत संघ विघटनपछि कमजोर बनेको नेपाल–रुस सम्बन्धलाई पुनः सक्रिय बनाउन रुसले नयाँ सहकार्यको प्रस्ताव ल्याएको थियो । तर नेपालले त्यसमा पर्याप्त रुचि नदेखाएको उनको भनाइ छ । उनले विशेषगरी नेपाल–रुस प्रत्यक्ष हवाई सेवा सुरु गर्न सके पर्यटन र आर्थिक क्षेत्रमा ठूलो लाभ हुन सक्ने बताएका छन् ।
रुसले नेपालका विद्यार्थीलाई चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि वार्षिक १५० देखि २०० छात्रवृत्ति उपलब्ध गराउने, अस्पताल निर्माणमा चिकित्सक सहयोग गर्ने तथा पूर्वाधार विकासमा लगानी गर्ने प्रस्ताव पनि गरेको थियो । तर पश्चिमी मुलुकको दबाब र ‘सेकेन्डरी स्याङ्क्सन’ को डरले नेपाल निर्णय लिन हिच्किचाएको दाबी समेत गरिएको छ ।
पूर्वमन्त्री दीपक ज्ञवालीले नेपालले कुनै प्रत्यक्ष हानि नहुने परियोजनासमेत अघि नबढाउनु कूटनीतिक कमजोरी भएको टिप्पणी गरेका छन् । उनका अनुसार आर्थिक हितका दृष्टिले उपयोगी परियोजनाहरू राजनीतिक दबाबका कारण फाइलमै सीमित भएका छन् ।