प्रधानन्यायाधीश नियुक्तिमा दक्षतालाई आधार बनाइएको : उपसभामुख ठाकुर

841 Shares

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर ले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता र योग्यताको मूल्यांकनका आधारमा गरिएको बताएकी छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले न्याय प्रणालीबारे लामो समयदेखि जनस्तरबाट गुनासा आइरहेको उल्लेख गर्दै मुद्दा टुंगिन वर्षौं लाग्नु गम्भीर समस्या भएको बताइन् । उनले न्यायालयमा दक्षता र निष्पक्षता मुख्य आधार हुनुपर्ने धारणा राखेकी छन् ।

उपसभामुख ठाकुरले दलगत प्रभाव वा राजनीतिक निकटताका आधारमा नियुक्ति हुँदा न्याय प्रणाली कमजोर बन्ने टिप्पणीसमेत गरेकी छन् । उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा अनावश्यक विवाद झिक्न नहुने उल्लेख गर्दै राज्यका सबै अंग संविधान, कानुन र जनहितअनुसार सञ्चालन हुनुपर्ने बताइन् ।

उनले सक्षम, निष्पक्ष र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै न्यायिक सुधारका लागि कार्यक्षमतामूलक मूल्यांकन आवश्यक रहेको धारणा व्यक्त गरेकी छन् ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका डा. मनोजकुमार शर्मा को विषयलाई लिएर पछिल्ला दिनमा राजनीतिक तथा कानुनी वृत्तमा बहस भइरहेको छ । केही पक्षले वरिष्ठता मिचिएको आरोप लगाएका छन् भने सरकार पक्षले भने कार्यसम्पादन र क्षमता हेरेर निर्णय गरिएको दाबी गर्दै आएको छ ।

सम्बन्धित समाचार