काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिन सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
सरकारका अनुसार बैठकमा नीति तथा कार्यक्रमसँगै समसामयिक राजनीतिक अवस्था, प्रशासनिक निर्णय तथा आगामी योजनामाथि छलफल भइरहेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरेपछि राष्ट्रपति समक्ष प्रस्तुत गरिने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममार्फत सरकारले आगामी वर्षका आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा विकास प्राथमिकता सार्वजनिक गर्ने तयारी गरेको छ ।
सरकारले यसअघि नै आगामी बजेट तथा नीति निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको थियो । उक्त पोर्टलमार्फत प्राप्त सुझावलाई समेत नीति तथा कार्यक्रम र बजेट निर्माणमा समेट्ने तयारी गरिएको सरकारको दाबी छ ।