काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै अन्तिम प्राविधिक तयारी भइरहेको जनाइएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार उत्तरपुस्तिका परीक्षण, नम्बर इन्ट्री र रुजु गर्ने काम सकिएको छ । अहिले प्राविधिक टोलीले अन्तिम डेटा मिलान र प्रणाली परीक्षण गरिरहेको छ । सबै प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर नतिजा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४ लाख ४१ हजार ५६६ जना नियमिततर्फ र ७० हजार ८५५ जना ग्रेड वृद्धितर्फका विद्यार्थी रहेका छन् । परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो ।
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो प्रकाशन गर्न सम्भव भएको बोर्डले जनाएको छ । सरकारले पनि एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने नीति लिएको थियो ।