काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भएको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । दिउँसो कोशी प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै बाँकी पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
मौसमविद्ले वर्षासँगै चट्याङ, पहिरो तथा सडक अवरोधको जोखिम रहने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । विशेषगरी पहाडी राजमार्ग तथा नदी आसपासका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।