नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा आजदेखि बहस सुरु हुने

1.3k Shares

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ ।

संसद सचिवालयका अनुसार बैठक मध्याह्न सवा १२ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रियसभा सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठकमा नीति तथा कार्यक्रममाथिको औपचारिक छलफल प्रारम्भ हुने जानकारी दिएका छन् । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई लिएर सत्ता र प्रतिपक्षबीच संसदमा तीव्र बहस हुने अपेक्षा गरिएको छ ।

यसैगरी आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेश गर्ने कार्यसूची पनि रहेको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेपछि अब त्यसमाथि संसदमा हुने छलफललाई आगामी बजेट निर्माणको आधारका रूपमा हेरिएको छ । विपक्षी दलहरूले नीति तथा कार्यक्रममा कार्यान्वयनको स्पष्ट आधार नभएको आरोप लगाइरहेका छन् भने सरकारले यसलाई आर्थिक सुधार, पूर्वाधार विकास र सुशासन केन्द्रित दस्तावेजका रूपमा व्याख्या गर्दै आएको छ ।

सम्बन्धित समाचार