लुम्बिनीमा बढ्दो सवारी दुर्घटना : १० महिनामै ४ सय ९३ जनाको मृत्यु

2.2k Shares

दाङ । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको संख्या लगातार बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ४ हजार ४ सय ८८ वटा सवारी दुर्घटना हुँदा ४ सय ९३ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ५ सयभन्दा बढी घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार तीव्र गति, चालकको लापर्बाही, लेन अनुशासन उल्लंघन, मादक पदार्थ सेवन, मोबाइल प्रयोग, ओभरटेक, खराब सडक अवस्था र प्रतिकूल मौसम दुर्घटनाका मुख्य कारण बनेका छन् । बढ्दो सहरीकरणसँगै सवारी साधनको चाप बढ्दा दुर्घटना पनि बढेको प्रहरीले जनाएको छ ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् । त्यहाँ १ हजार ३ सय ६५ दुर्घटनामा १ सय २३ जनाको मृत्यु भएको छ । सबैभन्दा कम दुर्घटना रुकुम पूर्वमा भएका छन् ।

ट्राफिक प्रहरीका अनुसार सबैभन्दा धेरै दुईपांग्रे सवारी दुर्घटनामा परेका छन् । कुल दुर्घटनामध्ये झण्डै ६३ प्रतिशत मोटरसाइकल तथा स्कुटर दुर्घटना रहेका छन् । दुर्घटनामा विशेषगरी युवापुस्ता बढी प्रभावित भएका छन् ।

प्रहरीले ट्राफिक सचेतना, लेन अनुशासन, मादक पदार्थ सेवन जाँच तथा ओभरलोड नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ । चालु आर्थिक वर्षमा नियम उल्लंघन गर्ने ९४ हजारभन्दा बढी सवारी कारबाहीमा परेका छन् भने १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षा सुधारका लागि विद्यालय, क्लब तथा विभिन्न संघसंस्थासँग सहकार्य गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

 
सम्बन्धित समाचार