काठमाडौं । सरकारले यस वर्षको मनसुनजन्य विपद्बाट देशभर २ लाखभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने आकलन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणअनुसार बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का कारण ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ स्वीकृत गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा भए पनि तापक्रम भने सरदरभन्दा बढी रहने पूर्वानुमान गरेको छ । तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमताल विस्फोट, आकस्मिक बाढी, पहिरो, डुबान तथा जमिन कटानजस्ता जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ । दक्षिणी तराई क्षेत्रमा तातो हावा ‘लु’ को जोखिम पनि बढ्न सक्ने बताइएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी जोखिममा लुम्बिनी प्रदेश रहेको छ । त्यहाँ ११ हजार ८१४ घरधुरीका ५१ हजार ६२६ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । त्यसपछि कोशी प्रदेशमा ३८ हजार ७३६, मधेशमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, सुदूरपश्चिममा ३३ हजार २२७ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा २१ हजार ६४१, कर्णालीमा १३ हजार १७५ जना मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ । विगत १० वर्षमा मनसुनजन्य विपद्का कारण ३ हजार ७४ जनाको मृत्यु भएको तथा ५०२ जना बेपत्ता भएको तथ्यांक पनि सार्वजनिक गरिएको छ ।
विपद् प्राधिकरणले यस वर्ष सम्भावित क्षति न्यूनीकरण गर्न विभिन्न मन्त्रालयलाई जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ । खोज, उद्धार र राहतको जिम्मा गृह तथा रक्षा मन्त्रालयलाई दिइएको छ भने स्थानीय तहसँग समन्वय गरेर शीघ्र पुनःस्थापनाको काम संघीय मामिला मन्त्रालयले गर्ने बताइएको छ ।