देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

2.5k Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने सम्भावना रहेको छ । अन्य पहाडी तथा तराई क्षेत्रहरूमा भने आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।

कोशी प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । मौसम विभागले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ । कोशी प्रदेशका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

सम्बन्धित समाचार