काठमाडौं । कीर्तिमानी आरोही मिरिता शेर्पाले ३२ औंपटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप उचाइ दिएका छन् ।
५६ वर्षीय कामिरिताले आइतबार बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
उनी ‘एभरेष्ट म्यान’को उपनामले समेत परिचित छन् । संसारमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा रहेको छ ।
सेभेन समिट ट्रेक्सले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै ३२ औं सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ फर्किने क्रममा रहेको जनाएको छ । कम्पनीले उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौंमा भव्य स्वागतको तयारी भइरहेको पनि उल्लेख गरेको छ ।
सन् १९९४ देखि सगरमाथा आरोहण यात्रा सुरु गरेका कामिरिताले तीन दशकभन्दा लामो अवधिमा पर्वतारोहण क्षेत्रमा अद्वितीय सफलता हासिल गरेका छन् । उनले बारम्बार सगरमाथा आरोहण गर्दै नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएका छन् ।
पर्वतारोहण क्षेत्रमा उनको योगदानलाई नेपालको राष्ट्रिय गौरवका रूपमा मात्रै नभई विश्व पर्वतारोहण समुदायको प्रेरणादायी प्रतीकका रूपमा समेत लिने गरिन्छ ।