प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्दै, उजुरीमाथि अध्ययन हुने

1.5k Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको उजुरी आगामी मंगलबार खोल्ने तयारी गरिएको छ। संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार शनिबार साँझसम्म शर्माविरुद्ध ७ वटा उजुरी दर्ता भएका छन्।

संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सोमबार कार्यालय समयभित्र उजुरी दर्ता गर्न सकिनेछ। गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार मंगलबार बस्ने समितिको बैठकमा उजुरीहरू खोलिनेछन्। त्यसपछि ती उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिनेछ।

समिति सचिवालयले उजुरी हुलाक, इमेल, सचिवालयमा उपस्थित भएर वा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि दर्ता गर्न सकिने जनाएको छ। उजुरी दिँदा विषयवस्तुको आधार र कारण स्पष्ट रूपमा खुलाउन आग्रह गरिएको छ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका डा. शर्मालाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

सम्बन्धित समाचार