राष्ट्रिय सहकारी बैंकको बागमती नेतृत्वका लागि डा. परितोष पौडेल मैदानमा
1.4k
Shares
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनमा छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार लेखा सुपरीवेक्षण समितिमा पनि एक जना संयोजकसहित दुई सदस्य निर्विरोध चयन भएका हुन् ।
बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदका लागि भने आगामी जेठ ९ गते निर्वाचन हुने तय गरिएको छ । उक्त पदका लागि प्रमुख प्रतिपक्षीसहित तीन राजनीतिक दलले साझा उम्मेदवार घोषणा गरेका छन् । उनीहरूले डा. परितोष पौडेललाई उम्मेदवार बनाएका हुन् ।
उम्मेदवार घोषणा कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गीता सत्याल, एमाले नेता केशव बडाल, खगराज अधिकारी, खेमप्रसाद लोहनी तथा नेकपाका सचिवालय सदस्य लीलामणि पोखरेल लगायतले सहकारी अभियानलाई पारदर्शी र जिम्मेवार ढंगले अघि बढाउन साझा उम्मेदवारलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेल र उम्मेदवार डा. परितोष पौडेलले सहकारी क्षेत्र सुधारका लागि साझा घोषणापत्र सार्वजनिक गरिने बताएका छन् । बागमती प्रदेशको निर्वाचनमा भने सातै प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।