काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा उनी फ्रान्स गएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
फेस्टिभलका विभिन्न सत्र तथा कार्यक्रममा सहभागी भएर डंगोल जेठ ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’ अन्तर्गत चलचित्र विधाका सदस्य सहर हुन् ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विसं २०८० कात्तिक १४ गते काठमाडौंलाई चलचित्र सहर सञ्जालको सदस्यका रूपमा चयन गरेको थियो । त्यसपछि काठमाडौंले चलचित्र, कला र रचनात्मक उद्योगसँग सम्बन्धित गतिविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै आएको छ ।
कान्सका मेयर डेभिड लिसनार्डले पठाएको निमन्त्रणापत्रमा कान्स फिल्म फेस्टिभल रचनात्मक सहरहरूलाई एउटै मञ्चमा ल्याउने अवसर भएको उल्लेख गरिएको छ । साथै ‘अन–एयर’ शीर्षकमा सञ्चालन हुने अडियो–भिजुअल कन्टेन्ट चेनबारे जानकारी लिन फेस्टिभल उपयोगी हुने जनाइएको छ ।
भ्रमणका क्रममा डंगोलले कान्सका मेयर लिसनार्ड तथा फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । यस क्रममा काठमाडौं र कान्सबीच चलचित्र, सांस्कृतिक तथा रचनात्मक क्षेत्रको सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।
यस वर्षको कान्स फिल्म फेस्टिभलमा नेपालबाट निर्देशक अविनाशविक्रम शाहको चलचित्र ‘इलिफेन्ट इन द फग’ प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन हुन लागेकाले यसलाई नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
हाल रचनात्मक विश्व सहर सञ्जालमा एक सयभन्दा बढी देशका चार सयभन्दा बढी सहर आबद्ध रहेका छन् ।