काठमाडौं । मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी प्रतिनिधिसभा नियमावली संशोधनको तयारी गरिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रस्तावित नियमावलीको नियम १७८ मा संसदीय विषयगत समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गरिएको छ । त्यसको उपनियम ४ मा विधेयकमाथिको छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने, तर अन्य कार्यसूचीमा आवश्यकताअनुसार मात्रै मन्त्री उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
हाल कायम प्रतिनिधिसभा नियमावली २०७९ अनुसार भने समितिका सबै बैठकमा मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ । यही प्रावधानका कारण मन्त्रीको समय नमिल्दा समितिका बैठक नै प्रभावित हुने गरेको गुनासो सांसदहरूले गर्दै आएका थिए ।
नयाँ व्यवस्था लागू भए समितिको काम कारबाहीलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । विशेषगरी विधेयकबाहेकका विषयमा मन्त्री अनुपस्थित भए पनि बैठक सञ्चालन गर्न सकिने भएकाले संसदीय गतिविधि अवरुद्ध नहुने अपेक्षा गरिएको छ । रास्वपाका नेताहरूले समितिको प्रभावकारिता बढाउन यस्तो संशोधन आवश्यक रहेको बताएका छन् ।