म्याग्दीमा ‘रेडपाण्डा’ खोज्न जंगलभर क्यामेरा जडान

1.3k Shares

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा संकटापन्न वन्यजन्तु रेडपाण्डाको अवस्था अध्ययन गर्न ‘क्यामेरा ट्रयापिङ’ सुरु गरिएको छ। जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस) नेपालले दातृ निकाय टोलेडोजुको सहयोगमा रेडपाण्डाको बसोबास क्षेत्र पहिचान गर्न स्वचालित क्यामेरा जडान गरेको हो।

कार्यक्रमअन्तर्गत जलजला, मुना, मरेनी तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा रेडपाण्डा ओहोरदोहोर गर्ने सम्भावित स्थान र दिसा भेटिएका क्षेत्रमा १२ वटा क्यामेरा राखिएको छ। क्यामेराबाट प्राप्त दृश्यका आधारमा रेडपाण्डाको अनुमानित संख्या र गतिविधिबारे अध्ययन गरिने जनाइएको छ।

बायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईका अनुसार रेडपाण्डाको स्वास्थ्य अवस्था तथा पेट–आन्द्रामा हुने परजीवीको अध्ययनका लागि दिसा परीक्षणसमेत सुरु गरिएको छ। यसअघि जलजलामा जडान गरिएका तीन क्यामेरामध्ये दुईवटामा रेडपाण्डा देखिएको थियो। सो क्षेत्रमा ६ देखि २५ वटासम्म रेडपाण्डा रहेको अनुमान गरिएको छ।

समुद्री सतहबाट २ हजार २०० देखि ४ हजार ५०० मिटर उचाइसम्म पाइने रेडपाण्डालाई नेपाल सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। यसको चोरी सिकारीमा संलग्नलाई एकदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

हालको अध्ययनअनुसार नेपालमा रेडपाण्डाको संख्या ५०० देखि एक हजारको बीचमा रहेको अनुमान गरिएको छ। नेपालसहित चीन, भारत, भुटान र म्यानमारमा मात्र यसको वासस्थान रहेको वैज्ञानिक तथ्यांकले देखाएको छ।

सम्बन्धित समाचार