काठमाडौं । संवैधानिक परिषबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ । सोही प्रयोजनका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो ।
बैठक बिहान ८ बजे सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ ।
सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ का अनुसार उजुरीहरू खोल्ने र सांसदहरूलाई वितरण गर्ने काम आजै गरिनेछ । साथै बिहान १० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मासँग सुनुवाइ प्रक्रिया अघि बढाइने जनाइएको छ ।
प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा विरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयभित्र १६ वटा उजुरी दर्ता भएका छन् । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।