काठमाडौं । ने.क.पा. (एमाले) की सांसद विष्णुमाया बिक ले बनेपामा राखिएका सुकुम्बासीको अवस्था अत्यन्त दयनीय रहेको भन्दै राज्यको व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको आकस्मिक बैठकमा बोल्दै सांसद बिकले काठमाडौंका विभिन्न स्थानबाट उठाइएका सुकुम्बासीलाई बनेपास्थित ‘होल्डिङ सेन्टर’मा कैदीसरह राखिएको बताइन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिले उक्त केन्द्रको अनुगमन गर्दा त्यहाँ ११० जना राखिएको भेटिएको जानकारी दिइन्।
उनका अनुसार होल्डिङ सेन्टरमा नर्सरीदेखि प्लस टुसम्म अध्ययनरत २२ जना बालबालिका तथा स्नातक तहमा अध्ययनरत पाँच जना विद्यार्थीसमेत रहेका छन्। घरमा डोजर चलेपछि एक युवा मानसिक आघातका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र पठाओ चलाएर जीविका चलाउँदै आएका अर्का युवाले रोजगारी गुमाएको उनले बताइन्।
सांसद बिकले सुत्केरी महिलासमेत कुपोषणको सिकार बनेको, मुटुरोगी दुर्गा गुरुङले उचित उपचार नपाएको तथा मानसिक समस्या भएका मलन तामाङको उपचारसमेत प्रभावकारी रूपमा नभएको उल्लेख गरिन्।
उनले गरिबीलाई अपराधका रूपमा हेर्न नहुने बताउँदै राज्यले सुकुम्बासीप्रति मानवीय व्यवहार गर्नुपर्नेमा जोड दिइन्। “गरिब हुनु अपराध होइन, सुकुम्बासी हुन कसैलाई रहर हुँदैन,” भन्दै उनले गरिब होइन, गरिबी हटाउने नीति आवश्यक रहेको धारणा राखिन्।