बुद्धिचाल महासंघमा विवाद चर्कियो, अध्यक्ष–महासचिवविरुद्ध अविश्वास प्रस्ताव

3.5k Shares

काठमाडौँ । नेपाल बुद्धिचाल महासंघ का अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध साधारणसभा सदस्यहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सदस्यहरूले महासंघभित्र आर्थिक अपारदर्शिता, विधानविपरीत गतिविधि तथा खेलाडीहरूको मागप्रति बेवास्ता गरिएको आरोप लगाएका हुन् ।

साधारणसभा सदस्यहरूले अध्यक्ष र महासचिवको मनोमानी शैलीका कारण नेपाली बुद्धिचाल खेल सीमित घेराभित्र खुम्चिएको बताएका छन् । उनीहरूका अनुसार विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियामा निष्पक्षता नभएको र व्यक्तिगत पहुँच तथा पक्षपातका आधारमा खेलाडी पठाउने गरिएको आरोप छ ।

महासंघभित्र आर्थिक कारोबार पारदर्शी नभएको, निर्णय प्रक्रियामा सीमित व्यक्तिको प्रभाव बढेको तथा खेलाडी र प्रशिक्षकहरूको आवाजलाई बेवास्ता गरिएको दाबी पनि गरिएको छ । पत्रकार सम्मेलनमा बोल्ने सदस्यहरूले महासंघलाई लोकतान्त्रिक र पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

यसअघि बुद्धिचालका चार सदस्यले महासंघको गतिविधिबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा औपचारिक उजुरी दिएका थिए । उक्त उजुरीपछि राखेपले छानबिन प्रक्रिया अघि बढाएको भए पनि प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

महासंघभित्रको यो विवादले नेपाली बुद्धिचाल खेल प्रशासनमा गम्भीर प्रश्न उठाएको छ । खेलाडी तथा सरोकारवालाहरूले छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार