काठमाडौं । डा. मनोज शर्मा मंगलबार देशको प्रधानन्यायाधीश पदमा नियुक्त भए पनि उनको पदभार ग्रहण प्रक्रिया विवाद र असन्तुष्टिबीच सम्पन्न भएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी को चाहनाअनुसार प्रधानन्यायाधीशमा नियुक्त भएको चर्चा भइरहेका शर्माले मंगलबार संसदीय सुनुवाइदेखि शपथ र पदभार ग्रहणसम्मका सबै औपचारिक प्रक्रिया एकैदिन पूरा गरेका हुन् ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा उजुरीबारे स्पष्टीकरण दिएपछि उनले शीतल निवास मा शपथ लिएर रामशाह पथस्थित सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरे । सर्वोच्च अदालतमा चौथो रोलक्रममा रहेका शर्माले पहिलो रोलक्रमकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल सहित अन्य वरिष्ठ न्यायाधीशलाई उछिन्दै प्रधानन्यायाधीश बन्न सफल भएका हुन् । तर उनको नियुक्तिलाई लिएर न्यायालयभित्र असन्तुष्टि देखिएको छ ।
पदभार ग्रहण समारोहमा सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्ट्रार बिमल पौडेल तथा उच्चपदस्थ कर्मचारीहरू उपस्थित भएर शर्मालाई स्वागत गरेका थिए । फूलमाला र खादासहित स्वागत गरिएपछि शर्माले पहिलो निर्णयमा हस्ताक्षर गर्दै सञ्चारकर्मीलाई सम्बोधन गरे ।

तर कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने कार्यक्रममा अनुपस्थित रहिन् । वरिष्ठताको आधार मिचेर आफूलाई पन्छाइएको भन्दै उनी असन्तुष्ट रहेको बताइएको छ । यसअघि कानुन दिवस कार्यक्रममा समेत उनले दुईतिहाइ बहुमतको दम्भविरुद्ध कडा अभिव्यक्ति दिएकी थिइन् ।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एसोसियसन समेत विभाजित देखिएको छ । बार अध्यक्षसहित पदाधिकारीहरू शर्माको स्वागत कार्यक्रममा सहभागी भएनन् । बारका केही सदस्यहरूले मंगलबार सर्वोच्च अदालत परिसरमा लालटिन बालेर विरोध प्रदर्शनसमेत गरेका थिए । न्यायालयभित्र वरिष्ठता, संवैधानिक परिषद्को भूमिका र राजनीतिक प्रभावबारे प्रश्न उठिरहेका बेला शर्माको नियुक्तिले न्यायिक वृत्तमा नयाँ बहस सुरु गराएको छ ।