काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार यसको प्रभावका कारण अहिले देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेशसहित अन्य हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।