जीडीपीको ४५ प्रतिशत पुग्यो नेपालको सार्वजनिक ऋण

2.7k Shares

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा विनिमय दरको असरसमेत गरी थप ३ खर्ब ९९ अर्ब रुपैयाँले वृद्धि भएको हो । हाल कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड अर्थात् ५३.५७ प्रतिशत रहेको छ भने आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड अर्थात् ४६.४३ प्रतिशत पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको भए पनि वैशाख मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ मात्र ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको ६१.३० प्रतिशत मात्रै हो ।

प्रतिवेदनमा आन्तरिक ऋण संकलन लक्ष्यअनुसार उत्साहजनक देखिए पनि वैदेशिक ऋण प्राप्ति कमजोर रहेको उल्लेख गरिएको छ । आन्तरिक ऋण लक्ष्यको ८२.५० प्रतिशत अर्थात् २ खर्ब ९८ अर्ब ६६ करोड प्राप्त हुँदा वैदेशिक ऋण भने लक्ष्यको २८.४६ प्रतिशत अर्थात् ६६ अर्ब ४९ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ ।

सरकारले वैशाख मसान्तसम्म ऋणको साँवा र ब्याज भुक्तानीका लागि २ खर्ब ९२ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । यो जीडीपीको ४.४३ प्रतिशत बराबर हो । कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणतर्फ साँवा भुक्तानीमा १ खर्ब ८५ अर्ब ६६ करोड र ब्याजमा ५० अर्ब ५२ करोड खर्च भएको छ । बाह्य ऋणतर्फ भने ४६ अर्ब २५ करोड साँवा र १० अर्ब ६ करोड ब्याज भुक्तानी गरिएको छ ।

प्रतिवेदनअनुसार वैदेशिक विनिमय दरमा आएको परिवर्तनका कारण मात्रै १ खर्ब ६७ अर्ब ७५ करोड रुपैयाँ बराबरको विनिमय नोक्सानी भएको छ । वैशाख मसान्तसम्म खुद ऋण परिचालन १ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार