समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताले पाए रकम फिर्ता
3.7k
Shares
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको हो ।
समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् । यसअघि समितिले कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना तथा पशुपति सहकारीका सात जना गरी कुल ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको थियो ।
समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो । आगामी दिनमा पनि बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने जनाएको छ ।
समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।
पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजार बचतकर्तामध्ये पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने करिब १८ हजार जना रहेको समितिले जनाएको छ ।