काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव रहँदा देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षासमेत भएको थियो । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । साथै मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना रहेको बताइएको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा समेत पानी पर्न सक्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने मधेशसहित बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।