मनसुन पूर्वतयारीमा बेलिब्रिजदेखि हेलिकप्टरसम्म सेनाको पूर्वतयारी

2.3k Shares

काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्को प्रभावकारी सामना गर्न यस वर्ष विशेष पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याउने भएको छ । विगतका वर्षमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा योजना तयार गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार यस अभियानमा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकतामा राखिएको छ । विपद्को समयमा तत्काल परिचालन गर्न सकिने गरी जिल्लास्थित गण तथा गुल्महरूमा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । साथै प्रदेशस्थित सबै पृतनामा उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ । यसबाट बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार गर्न सहज हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौंबाहेक सुर्खेत र इटहरीमा एक–एक हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ । मनसुन सुरु भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने अन्य हवाई साधन काठमाडौंमा तयारी अवस्थामा राखिने व्यवस्था गरिएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधनलाई उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना पनि सेनाले बनाएको छ ।

बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भए तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक–एक सेट बेलिब्रिज राखिएको सेनाले जनाएको छ ।

यसका साथै गाडीमार्फत आवश्यक स्थानमा सहजै पुर्‍याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुल गौचरस्थित ब्यारेकमा तयारी अवस्थामा राखिएका छन् । विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई पनि गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको छ । आवश्यक परे हवाई साधनमार्फत उक्त टोलीलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न सकिने जनाइएको छ ।

मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण र औषधि तयारी अवस्थामा राखिएको छ । प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्री पनि व्यवस्थापन गरिएको सेनाले जनाएको छ ।

आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ तथा ‘अपरेटर’सहितका सवारीसाधन तुरुन्त परिचालन गर्न सकिने तयारी गरिएको छ । यसबाट पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली सेनाले विपद् व्यवस्थापन एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै स्थानीय समुदाय तथा सरोकारवाला निकायबीच समन्वयात्मक र योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको जनाएको छ ।

यसै क्रममा सेनाको नेतृत्वमा नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो । उक्त अभ्यासमार्फत विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र विभिन्न निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको सेनाले जनाएको छ ।

स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको छ । सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले मनसुनजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन् ।

सम्बन्धित समाचार