पश्चिमी र स्थानीय वायु सक्रिय: आज पनि केही ठाउँमा वर्षा

1.3k Shares

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यस कारण देशका पहाडी र हिमाली क्षेत्रहरूमा आकाशमा बादल लागेको छ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुहरूको प्रभावका कारण बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा, साथै मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिन हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने, मधेशसहित बागमती र गण्डकीका तराई तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल रहने र बाँकी तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ।

सम्बन्धित समाचार