काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ ।
लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
यता सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने मौसमविद्ले बताएका छन् ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा रातिको समयमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ ।