प्रतिनिधिसभा र राष्ट्रिय सभा एउटै भवनमा, नयाँ संरचना तयार हुँदै

1.1k Shares

काठमाडौं । सिंहदरबार परिसरको पुतलीबगैंचा क्षेत्रमा निर्माण भइरहेको नयाँ संघीय संसद भवनको काम तीव्र गतिमा अघि बढिरहेको छ । भवन निर्माणपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै बैठक एउटै आधुनिक संरचनामा सञ्चालन हुनेछन् ।

निर्माणाधीन संसद भवनमा अत्याधुनिक सुविधा सहितको प्रतिनिधिसभा हल, राष्ट्रिय सभा हल, संसदीय दलका कार्यालय, समिति बैठक कक्ष, तथा उच्च पदाधिकारीका लागि विशेष कक्षहरू रहने व्यवस्था गरिएको छ । परियोजनाअन्तर्गत १२ वटा संरचना निर्माण गरिँदैछ ।

प्रतिनिधिसभा हलमा करिब ७०० जनासम्म बस्न मिल्ने क्षमता रहनेछ, जसमा मुख्य हलमा ४०० र माथिल्लो भागमा ३०० सिटको व्यवस्था गरिएको छ। राष्ट्रिय सभाका लागि पनि छुट्टै आधुनिक हल निर्माण भइरहेको छ ।

new-samsad-.jpg

सरकारले करिब ५ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त भवनलाई आगामी चरणमा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। हाल केही मुख्य हलहरू तथा बैठक कक्षहरू छिट्टै प्रयोगमा ल्याउने तयारी भइरहेको छ ।

निर्माण पक्षका अनुसार भवनको भित्री सजावट, प्राविधिक उपकरण जडान तथा अन्य अन्तिम कामहरू तीव्र रूपमा भइरहेको छ । आगामी संसद बैठक यही नयाँ भवनबाट सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।

यसअघि संसदका बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको थियो, तर २०२५ को राजनीतिक घटनापछि उक्त भवन क्षतिग्रस्त भएपछि नयाँ संसद भवन निर्माणलाई तीव्रता दिइएको हो ।

सम्बन्धित समाचार